बाग्मती

ललितपुर महानगरमा नौ वडाको गणना सकियो

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा नं. ४ मा सन्तोष खड्का, वडा नं. ६ मा रुपेन्द्रराज शाक्य, वडा नं. ७ मा कुलबहादुर महर्जन वडा नं. ८ मा बाबुरत्न महर्जन र वडा नं. १० मा रवीन व्यञ्जनकार विजयी भएका छन । वडा नं. २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भएका छन । वडा नं. १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं. ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन । हाल वडा नं. ९, ११ र १२ को गणना जारी छ ।

वडा नं. १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी भएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सकेनन । रविनले ८२५ मत पाएका छन भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाएका छन । महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएपछि शनिबारदेखि मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।

महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १७ हजार ७०० र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले नौ हजार ५४४ मत पाएका छन । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले नौ हजार ६६६ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले छ हजार २८ मत पाएका छन ।