प्रदेश 1

दमकमा राप्रपाका थापा निर्वाचित

६ जेठ, सुरुङ्गा । दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका छन भने उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भए । निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी एमालेको गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गरे । थापा र अधिकारीको मतान्तर ४५३ रहेको छ । अधिकारी वि.सं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सोही नगरको उपप्रमुखमा निर्वाचित थिए ।

उपप्रमुख पदमा निर्वाचित भट्टराईले १६ हजार ९६६ मत प्राप्त गर्दा एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरे । उपप्रमुखमा भट्टराई र खनालको मतान्तर ३९२ छ । अन्ठाउन्न हजार १७६ मतदाता रहेको नगरमा १८ हजार ७१६ पुरुष र २१ हजार १७९ महिला गरी ३९ हजार ८९५ जनाले मतदान गरेका थिए ।वडाध्यक्षमा १ मा एमालेका हरिप्रसाद न्यौपाने, २ मा एमालेकै प्रजापति सापकोटा, ३ मा एमालेका नवीन बराल, ४ मा कांग्रेसका पुण्यप्रसाद दाहाल निर्वाचित भए ।

त्यस्तै वडा नं. ५ मा एमालेका इन्द्रबहादुर गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीमप्रसाद पौडेल, ८ मा एमालेका धर्मप्रसाद दाहाल, ९ मा एमालेकै कुवेरप्रसाद भट्टराई र १० मा कांग्रेसका राजेन्द्रप्रसाद भण्डारी निर्वाचित भए । छ दलीय गठबन्धनबाट राप्रपाका थापालाई प्रमुखका साझा उम्मेदवार बनाइएको थियो । मतगणनाको सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा–कडा प्रतिष्पर्धा हुँदै आएको थियो ।