प्रदेश 1

कोसीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

६ जेठ, इनरुवा । सुनसरीको कोसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन । शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका तर्फबाट अध्यक्ष पदमा ऐयुव अंसारी र उपाध्यक्ष पदमा अनितादेवी यादव निर्वाचित भएका छन । कोसीको अध्यक्षमा अंसारीले एक हजार १९९ मतान्तरले विजयी भएका छन ।

कांग्रेसका उम्मेदवार ऐयुव अंसारीले ६ हजार ४१६ मत र उपाध्यक्ष पदमा अनितादेवी यादवले पाँच हजार ३९९ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल (जसपा)का अध्यक्ष पदका उम्मेदवार देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गरेर पराजित भएका भएका छन । उपाध्यक्ष पदका उम्मेदवार अनितादेवी यादवकी प्रतिद्वन्द्वी अणुदेवी खेरवार चार हजार ७०८ मत प्राप्त गरी पराजित भएका छन ।

यादवले ६९१ मतले खेरवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् । वि.सं २०७४ को निर्वाचनमा समेत कोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा अंसारी र यादव निर्वाचित भएका थिए । कोसी–१ को वडाध्यक्ष पदमा जसपाका शोभितनारायण यादव, कोसी–२ मा कांग्रेसका ध्यानी उराँव, कोसी–३ मा कांग्रेसका सुलेमान मंसुरी, कोसी–४ मा एमालेका इसराइल मियाँ, कोसी–५ मा कांग्रेसका शाह जमाल, कोसी–६ मा जसपाका जुडिलाल कौडगिया, कोसी–७ मा नेकपा माओवादी केन्द्रका लालदेव सदा र कोसी–८ मा कांग्रेसका बलरामकुमार क्षेत्री विजयी भएका छन ।