प्रदेश 1

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

८ जेठ, धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन । चार हजार ७६२ मतान्तरसहित उनी प्रमुखमा विजयी भएका छन । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे। उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका थिए ।

नेकपा (एमाले)का मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरे । प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४२२ मत प्राप्त गरेका थिए । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएका छन । प्रतिद्वन्द्वी नेकपा (एमाले)का पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गरे । 

बीस वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं २, ४, ५, ७, ८, १०, १२, १३, १५, १७ र १९ मा एमाले, वडा नं ६ मा स्वतन्त्र तथा वडा नं १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।