प्रदेश 1

धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत

८ जेठ, धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका छन । उनले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गरेका छन । उनी निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले १६ हजार ६९ मत प्राप्त गरे ।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार एमालेबाट उम्मेदवार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरे । सामाजिक अभियान्ता साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । 

उनले राजनीतिक दलप्रति नकारात्मक सन्देश फैलाउँदै एक्लै घरदैलो गरेका थिए । एक्लै भए पनि मुद्दा जायज भएको देखेर धराने जनताले उनलाई लोकप्रिय मत दिएर जिताएका छन । उनले विसं २०७४ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा ४२२ मत ल्याएका थिए । वि.सं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि धरानमा वामपन्थीले एक छत्र शासन गर्दै आएका थिए । पहिलो पटक स्वतन्त्र उम्मेदवार नगर प्रमुखमा निर्वाचित भएका छन । 

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थी उम्मेदवार नै लगातार प्रमुख भएका छन् । वि.सं २०४६ को जनआन्दोलनपछि संवैधानिक राजतन्त्रको पालामा २०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उम्मेदवार नै प्रमुखमा भएका थिए । वि.सं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जितेका थिए । उनी दुवै जना एमालेबाट चुनाव जितेका थिए । वामपन्थी जीतलाई निरन्तरता दिए । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले एमालेबाट जितेका थिए । धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा ६२ हजारले मतदान गरेका थिए । 

उपप्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनबाट अइन्द्रविक्रम बेघा निर्वाचित भएका छन । बीस हजार ५१० मत प्राप्त गरेर निर्वाचित हुदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोलाई दुई हजार ९०४ मतान्तरले पराजित गरेका छन । इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन । अघिल्लो २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखमा  १४  वडा जितेको एमाले यसपटक निकै खुम्चेको छ । २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ नं. वडा विजयी भएको छ । प्रमुख र उपप्रमुखमा मत नआए पनि वडाध्यक्षमा उत्कृष्ट मतले एमाले विजयी भएको छ । 

कांग्रेसले १, ३, ९, ११, १६, १८, २० नं. विजयी भएको छ । १७ नं. वडामा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहेका मनोज भट्टराई विजयी भएका छन । गत निर्वाचनमा पनि भट्टराई विजयी भएका थिए ।