कृषि

किसानको आवश्यकता हेरेर कार्यक्रम बनाउन आग्रह

१० जेठ, बलेवा । तीन तहका सरकारले आगामी वर्षको बजेट ल्याउँदा किसानको आवश्यकता हेरेर बजेट ल्याउनुपर्ने किसानले बताएका छन् । देशको अर्थतन्त्रको मुख्य भाग ओगटेको कृषि क्षेत्रमा लगानी बढाउन भइरहेको लगानी उपलब्धिमूलक बनाउन किसानले आग्रह गरे । गण्डकी प्रदेश सरकारकारको भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले बागलुङमा आयोजना गरेको एक कार्यक्रममा सहभागी किसानले उत्पादनमा वृद्धि र प्राङ्गारिक उत्पादनको सन्तुलनका लागि सरकारी कार्यक्रम तय हुनुपर्नेमा जोड दिए ।
“अनुदान वास्तविक किसानले पाउनेगरी आउँदा किसानलाई राहत र उत्पादन बढाउन सहयोग हुन्छ”, तालिममा सहभागी किसान बाबुराम शर्माले भने, “किसानले जे उत्पादन गर्नसक्छ त्यसका लागि अनुदान चाहिने हो, अनुदानको कार्यक्रमले मागे अनुसारको उत्पादन किसानका लागि असजिलो हुनपनि सक्छ ।”

मन्त्रालयले मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रममा आवद्ध समूह सहकारीका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । सोमबारदेखि सुरु भएको तालिम बुधबार सकिने छ । तालिममा कार्यक्रममा सहभागी किसान र कृषि प्राविधिक गरी २५ जनाको सहभागिता रहेको छ ।

तालिमको सहजीकरण मन्त्रालयका उपसचिव ध्रुव गिरी, कृषि अर्थ विज्ञ, नारायणप्रसाद पाठक, भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटा र कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सहजीकरण गर्नेछन ।

किसानले गरेका उत्पादनमा सरकारी पक्षबाट भइरहेको सहयोगले परनिर्भरता बढ्न नहुनेमा तालिममा सहभागी सरोकारवालले जोड दिए । “आज सरकारले अनुदान दिइरहेको छ, सानो लगनी मात्रै किसानको छ, भोलि सबै लगानी गर्नुपर्ने वातावरण आउँदा किसानले व्यवसाय छोड्ने नहोस” उपसचिव गिरीले भने, “अहिले चलेका कार्यक्रमले परनिर्भरता नबढोस्, आत्मानिर्भर बन्ने वातावरण बनोस् ।”

स्थानीय तहको निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले बागलुङ लगायतका छ वटा जिल्ला प्रहरी कार्यालयलाई पुरस्कृत गरेको छ । निर्वाचनको समयमा सुरक्षा व्यवस्था चुस्त राख्दै नागरिकलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गरेको भन्दै प्रहरी कार्यालयका प्रमुखहरु पुरस्कृत भएका छन ।

बागलुङ जिल्लाका प्रहरी प्रमुख दयानीधि ज्ञवालीलाई रु एक हजार ५०० नगदसहित पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुरस्कृत हुने जिल्लामा छिमेकी जिल्ला पर्वत, कास्की, स्याङ्जा र गोरखा लगायतका जिल्ला रहेका छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङले स्थानीय तह निर्वाचन–२०७९ हालसम्मकै नमूना निर्वाचन भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सुरक्षाका दृष्टिले अहिलेसम्म उत्कृष्ट वातावरण सिर्जना भएको उल्लेख गरेको हो । जिल्लामा भइरहेका आपाराधिक घटना कम गर्न र चोरी तथा लागुऔषधको क्षेत्रमा अनुसन्धान गर्न छुट्टै सेल खडा गरेको ज्ञवालीले जानकारी दिए ।
“हामी जनताको नजिकै रहेर काम गरिरहेका छौं”, उनले भने,“सूचनाको पहुँचमा जनता हुँदा अपराध आधा कम हुन्छ ।” पत्रकार भेटघाटमा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जिल्लाभर नागरिकसँग मिलेर प्रहरीले काम गरिरहेको बताए । प्रहरी निरीक्षक भूपेन्द्र गिरीले चोरीका घटनामा कमी ल्याउन नागरिक सचेत बनेर प्रहरीलाई सूचना दिनुपर्ने बताए । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले कानुन विपरीतका गतिविधि सडकमा कमी आएको दाबी गरे ।