बाग्मती

शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन

१२ जेठ, काठमाण्डौ । शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ ।

राप्रपाका तर्फबाट महिला सदस्य तीन र दलित तथा अल्पसङ्ख्यक सदस्य एक निर्वाचित भएका छन् । महिला सदस्यमा राज्यलक्ष्मी नेमकुल जोशी, प्युरीमाया वाइवा र चन्दा श्रेष्ठ निर्वाचित भएका नगर निर्वाचन अधिकृत सीता निरौलाले  जानकारी दिए । राप्रपाबाट दलित तथा अल्पसङ्ख्यक सदस्यमा सञ्जय रम्तेल निर्वाचित भएका छन ।

यसैगरी एमालेले एक महिला सदस्य र एक दलित तथा अल्पसङ्ख्यक सदस्य जितेको छ । एमालेबाट महिला सदस्यमा उमादेवी कार्की र दलित तथा अल्पसङ्ख्यक सदस्यमा आनन्द सार्की निर्वाचित भएका नगर निर्वाचन कार्यालयले जनाएको छ । 

माओवादी केन्द्रबाट एक महिला सदस्य र एक दलित तथा अल्पसङ्ख्यक सदस्य निर्वाचित भएका छन् । महिलामा मनिषा परियार र दलित तथा अल्पसङ्ख्यक सदस्यमा रमेश नेपाली दमाईं निर्वाचित भएका निर्वाचित अधिकृत निरौलाले बताए । 

कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धन पराजित भएको छ । कार्यपालिका निर्वाचनका लागि गत शनिबार निर्वाचन कार्यतालिकासहित मतदाता नामावली पनि प्रकाशन गरिएको थियो । कार्यपालिका निर्वाचनका लागि ४६ जना मतदाता रहेका थिए ।  

नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ८ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले ४६ जना मात्र जनप्रतिनिधि निर्वाचित भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । आज बिहान ११ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको थियो । 

कार्यपालिकामा नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिलाबाट पाँच जना र दलित तथा अल्पसङ्ख्यकबाट तीन जना सदस्य निर्वाचित हुने व्यवस्था छ । यसरी नगरपालिकामा १९ सदस्यीय कार्यपालिका बन्ने जनाइएको छ ।

महिला पाँच जना निर्वाचित वडा सदस्यबाट उम्मेदवारी दिनेछ । दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने कार्यपालिका सदस्यका लागि भने नगरवासीले उम्मेदवारी दिएका हुन् । योसँगै शङ्खरापुर नगरपालिकामा स्थानीय तह निर्वाचनका सबै कार्यक्रम सम्पन्न भएको छ । अभिलेखीकरण र प्रतिवेदन तयार पारी बुझाउन बाँकी रहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । शङ्खरापुरमा नगर प्रमुख पदमा राप्रपाका रमेश नापित र उपप्रमुखमा कांग्रेसका समिता श्रेष्ठ विजयी भएका थिए ।