आर्थिक

सञ्चालक सदस्यद्वयको पद तथा गोपनीयताको शपथ

१२ जेठ, काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमकाबीच कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई शपथ गराएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्को यही जेठ ६ गतेको निर्णयानुसार शिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । शिवाकोटी बैंकका पूर्वडेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुन ।

शिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्तराज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन ।

ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ ।

सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ । शपथ ग्रहण समारोहमा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सह–रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा र निर्देशक थानेश्वर आचार्यलगायतका अधिकारीको उपस्थिति थियो ।