गण्डकी प्रदेश

आगलागी हुँदा घर नष्ट

१३ जेठ, बलेवा । बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गए राति विद्युत् सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए । राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउ रानाले बताए ।