राजनीति

डराएर, धम्क्याएर वा फकाएर कुनै पनि हिसाबले राष्ट्रियतामाथि प्रहार गर्न पाइँदैन : अध्यक्ष ओली


२८ जेठ, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कलाकारलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घले आज आयोजना गरेको सम्मान कार्यक्रममा उनले सरकारले कलाकारका समस्या पहिचान गरेर समाधान गर्नुपर्ने धारणा राखे ।

उनले मुलुकलाई अगाडि बढ्न सजिलो नभएको सुनाउँदै भने, “हामीजस्तो स्वाभिमान र स्वाधिनता भएको देशलाई अगाडि बढ्ने कुरामा विभिन्न व्यवधान खडा हुने गरेका छन् ।” आजको २१औँ शताब्दी बलको शताब्दी नभएर बुद्धिको शताब्दी भएको बताउँदै उनले न्याय र सत्यविपरीत राष्ट्रमाथि दुष्प्रभाव पर्न दिन नहुने उल्लेख गरे। अध्यक्ष ओलीले भने, “डराएर, धम्क्याएर, छक्याएर वा फकाएर कुनै पनि हिसाबले हाम्रो राष्ट्रियतामाथि प्रहार गर्न पाइँदैन ।”

पूर्वप्रधानमन्त्री ओलीले देशको हकको अधिकार, सार्वभौमसत्ता, स्वाभिमान र स्वतन्त्रताको रक्षाका निम्ति सबैलाई अगाडि उभिन आग्रह गरे। उनले देशलाई माया गर्न सबैलाई आग्रह गरे। नेता ओलीले नेपालकै चिकित्सकले मिर्गौला प्रत्यारोपण गरेर ब्युँझिदा मुलुकमा हामीले केही प्रगति गरेका छौँ भनेर आनन्द लागेको बताए । उनले १२ वर्षअघि नेपालमा मिर्गौला प्रत्यारोपण सुरु नभएकाले भारतको नयाँ दिल्लीमा जानुपरेको बताए । “बाह्र वर्षपछि नेपाल आफ्नै देशमा मिर्गौला फेर्न पाएँ । त्यसले मलाई बेग्लै आनन्द अनुभूति भयो”, उनले भने ।