सुदूरपश्चिम

टिकापुर अस्पतालमा विशेषज्ञ सेवा संचालन गर्छौ : अध्यक्ष सोडारी

१ असार, कैलाली । टिकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पताललाई सर्वसुलभ, विषेशज्ञ सेवाहरु संचालन गर्ने बताएका छन् । उनले यस अस्पताललाई ग्रामीण जनताको अस्पताल बनाउने बताए । अध्यक्षको जिम्मेवारी समालेपछि आफूले अस्पतालबाट कसरी बढीभन्दा बढी बिरामीलाई सेवा उपलब्ध गराउन सकिन्छ भनेर गुरुयोजना बनाएर अघि बढ्ने बताए ।
२०४६ स्वास्थ्य चौकी, २०६३ स्वास्थ्य केन्द्र र २०७३ सालमा ५१ बेडको अस्पतालको स्वीकृती पाएको टिकापुर अस्पतालमा कर्मचारीसहित १७० जनशक्ति कार्यरत छ । जिल्ला अस्पताल सरहको टिकापुर अस्पतालमा दशौं तह (मेशु) कार्यरत रहेका छन् । उनकै मातहतमा स्वास्थ्य सेवा संचालन भइरहेको छ ।
अध्यक्ष सोडारीका अनुसार अस्पतालमा २४ सै घण्टा आपत्तकालिन सेवासहित अर्थोपेडिक, मेजरअप्रेशन, प्रसुती सेवा, ल्याब, सामाजिक इकाई, जनरल सेवा, बाल रोग, दान्त सेवा, आइसियू, भिडियो एक्स रे, डिजिटल एक्स रे, इन्डोस्कोपी, क्षयरोग, खोप सेवा पनि संचालनमा छन् । अस्पतालबाट दैनिक ५ सय भन्दा बढीले स्वास्थ्य सेवा लिइरहेका छन् ।
त्यस्तै, अस्पतालले निःशूल्क फार्मेसी सेवा पनि संचालना गरिरहेको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम, प्रसुती र जनरल वार्डमा भर्ना भएका बिरामीलाई निःशूल्क खानाको व्यवस्था समेत गरेको अध्यक्ष सोडारीले बताए।
पूर्वी कैलालीदेखि बर्दिया हुँदै पहाडी जिल्लाका बिरामीहरुलाई सेवा दिइरहेको यस अस्पतालमा कोइकाले भौतिक संरचना र जनशक्तिमा सहयोग गरेकोमा अध्यक्ष सोडारीले धन्यवाद दिए । यसबाट बिरामीले सहजरुपमा पाउन सहयोग पुगेको भन्दै आगामी दिनमा सहयोग तथा सहकार्यको अपेक्षा गरेको उनले बताए ।
अध्यक्ष सोडारीले आफूले जिम्मेवारी समालेपछि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न सबैसँग छलफल गरिरहेको बताउँछन् । उनले तत्काल सुधार गर्नुपर्ने कार्य, बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने, मध्यकालिन रुपमा भौतिक तथा नीतिगत सुधारको योजना बनाएको बताए । त्यस्तै, दिर्घकालिन रुपमा अस्पतालबाट प्रवाह हुने सेवालाई सहजरुपमा यो क्षेत्रका बिरामीले लिने पाउने गरी नीति बनाउने र भौतिक पूर्वाधारको निर्माण गरी ग्रामिण क्षेत्रका नागरिकलाई सर्वसुलभ, गुणस्तरिय विशेषज्ञ सेवा प्रदान गर्ने काम गर्ने उनी बताउँछन् । अस्पतालको परिसरमै वेलनेस इकाई खडा गरी प्राकृतिक चिकित्सा, मनोवैज्ञानिक, शारीरक स्वास्थ्य सेवा संचालन गर्ने योजना रहेको छ ।
अस्पतालको नाममा रहेको १२ बिगाह जमिनलाई भौतिक तथा स्वास्थ्य सेवामा गर्ने योजना अस्पतालले बनाउने योजना रहेको छ । बजार क्षेत्रमा रहेको जमिनलाई व्यवसायी प्रयोजनमा प्रयोग गरी आन्तरिक आयस्रोत बढाउने गरी योजना बनाउने बताउँदै सोडारीले यसमा सबैको साथ र सहयोग हुनेमा विश्वास व्यक्त गरे ।
“अहिले हामीसँग भएका आन्तरिक साधन स्रोत परिचालन र स्थानीय, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा विशषज्ञ सेवा संचालनको योजना बनाएका छौं” सोडारीले भने । उनले अस्पताल आउने बिरामीलाई बिना झन्झट सेवाको लागि हेल्प डेक्सलाई व्यवस्थित गर्ने बताए । त्यस्तै, स्थानीय सरकारसँग समन्वय गरी आधारभूत सेवा संचालनको योजना रहेको उनले बताए ।
त्यसैगरी व्यावस्थापन क्षेत्रमा गुणत्मक रुपमा सुधारको योजना बनाउने बताए । प्रशासन, लेखा, मानवीय संशाधन, मेडिकल रेकर्ड तथा सूचना शाखा, गुणस्तर विभाग, क्लिनिकल म्यानेजमेन्ट, वातावरणीय व्यवस्थापनलाई व्यवस्थित तथा चुस्तदुरुस्त गर्ने अध्यक्ष सोडारीको योजना रहेको छ । त्यस्तै, अध्यक्ष सोडारीले दीर्घकालिन योजना अन्तरगत टिकापुर अस्पताललाई १०१ बेडको बनाउने र त्यसको लागि आवश्यक भौतिक संरचना र जनशक्तिको लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग माग राख्ने गृहकार्यमा रहेको बताए । अस्पतालेको परिसरमा चारैतिर हरियाली वातावरण बनाउने, गार्डेन, मन्दिर र क्यान्टिनलाई व्यस्थित गर्ने योजना उनले अगाडि सारेका छन् । बिरामी कुरुवाहरुलाई आरामको लागि टिभीसहितको हल निर्माण गर्ने, अहिलेको अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्न पनि दिर्घकालिन योजना बनाउने उनीले बताए।
त्यसैगरी दिर्घकालिन योजना अन्तरगत अस्पतालका सेवालाई पनि विस्तार गर्ने बताउँदै सोडारीले भने, “अहिले संचालन भइरहेका सेवालाई व्यवस्थित गर्दै थप सेवा पनि विस्तारको योजना बनाउने छौं । जनरल फिजिसियन, रेडियोलोजिष्ट, छाला रोग विषशेज्ञ, नाक कान घाँटी, मानसिक रोग, डाइलासिस सेवा विस्तार गर्ने योजना बनाउनेबारे छलफल चलेको छ ।” चिकित्सक आवास निर्माण गर्ने पनि उनले बताए ।
टिकापुर अस्पतालमा संचालन भइरहेको सरुवा रोग संचनलनको लागि संरचनाको निर्माणलाई निरन्तरता लिने बताउँदै अध्यक्ष सोडारीले अस्पताललाई जनताको पहुँचमा पुर्याउन स्थानीय सरकार, राजनीतिकर्मी, पेशाकर्मी, संचार जगत, नागरिक अगुवा, व्यवसायीसहित आम नागरिकलाई हातमा हात मिलाउन आग्रह गरे । उनले आफ्नो कार्यकालमा संस्थागत स्वार्थ बाहेक अरु कुनैपनि कार्य नगर्ने प्रतिवद्धता समेत जाहेर गर्दै सल्लाह सुझाव दिन आग्रह पनि गरे ।
टिकापुर नगरपकालिकाले दुई र जानकी गाउँपालिकाले एक जनशक्ति व्यवस्थापनमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरताको लागि आग्रह गर्दै सोडारीले स्थानीय सरकार र प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेटमा जनशक्तिसहित पनि समेट्न आग्रह गर्छन् । उनले टिकापुर क्षेत्रका नागरिकको उपेक्षा महशुस हटाउन पहल सरकारसँग आग्रह गरे ।
टिकापुर अस्पतालको भौतिक संरचना र विशेषज्ञसहितको सेवा प्रदानको लागि प्रदेश सरकारको नयाँ बजेटमा टिकापुर अस्पताललाई प्राथमिकता दिन पनि सोडारीले आग्राह गरे ।