कृषि

वालिङमा व्यावसायिक ड्रागनखेती सुरु

१० असार, वालिङ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा ड्रागन खेती थालेका हुन् ।

ढुङ्गानाले ८० रोपनी जमिन भाडामा लिएर सुरुमा चार हजार बिरुवाबाट व्यवसाय थालेका हुन् । यस क्षेत्रकै नयाँ र नौलो व्यवसायको थालनी उनले युट्युवको सहायतामा अगाडि बढाएका हुन् ।

“युट्युव हेर्दै जाँदा ड्रागन खेतीकाबारेमा देखेपछि यस क्षेत्रमै नयाँ र सम्भावना देखेकाले व्यावसायिकरुपमा थालनी गर्ने सोंच बनाएँ”, उनले भने, “सुरुमा जमिन भाडामा लिएर सम्याउने काम सकिएसँगै चार हजार बिरुवा लगाएर सुरुआत गरेको हुँ ।” ८० रोपनी जमिनमा ३० हजार ड्रागनका बिरुवा लगाउने योजना उनको छ । तीस हजार बिरुवाका लागि उनले १० हजार सिमेन्टका खम्बा निर्माण गरेका छन् भने प्रत्येक खम्बामा तीन÷चार वटा बिरुवा लगाउने तयारीमा छन् ।

सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागनखेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाएको बिरुवा राम्रो हुँदै गएको उनले बताए ।

“वीरगञ्ज, विराटनगरबाट बेर्ना तथा बीउ ल्याएर लगाएको हुँ”, उनले भने, “अहिले राम्रो हुँदै गएकाले अझै बिरुवा थप्दै विस्तार गर्दै जाने तयारीमा छु ।” नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढ्दै गएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने उनको धारणा छ ।

एकपटक रोपेपछि वर्षौंसम्म पनि फल दिने भएकाले पनि यो खेती सजिलो र पछिल्लो समय व्यावसायिकरुपमा गरिँदै गएको छ । फल र स्वाद दुवै स्थानीयका लागि नौलो भएकाले पनि उत्पादन गर्नसकेमा उत्पादन भएको ठाउँबाट नै बिक्री हुनसक्ने उनले बताए ।