स्वास्थ्य

स्थानीयस्तरसम्म स्वास्थ्य सेवा विस्तारका लागि पर्याप्त बजेट छ : मन्त्री खापुङ

१३ असार, काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीयस्तरसम्म आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको सांसद्हरूले गरेका प्रश्नको जवाफ दिँदै नवनियुक्त मन्त्री खापुङले प्रत्येक वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना र प्रत्येक पालिकामा पाँच, १० र १५ शै्ययाको अस्पताल निर्माण गर्नेतर्फ मन्त्रालय केन्द्रित भएको बताए ।

संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने र कसैलाई पनि आकस्मिक सेवाबाट वञ्चित नगर्ने उल्लेख रहेको मन्त्री खापुङले बताए । संविधानको सो व्यवस्था कार्यान्वयन गर्न मन्त्रालयको ध्यान गएको र सोहीअनुसार बजेट विनियोजन भएको उनले बताए । 

कोभिड विरुद्धको खोप व्यवस्थित रुपले सञ्चालित गरिएको उनले बताए । मन्त्री खापुङका अनुसार मन्त्रालयले यो महिनादेखि पाँचदेखि ११ वर्षका बालबालिकालाई खोप सुरु गरिसकेको छ । तनहुँस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई प्रतिष्ठान बनाउने विषय उच्च प्राथमिकतामा राखेको र यसका लागि फाइल प्रक्रिया अघि बढेको उनले बताए । 

सिकलसेल एनिमिया रोगका सम्बन्धमा सिकलसेल एनिमिया अनुसन्धान तथा प्रचार केन्द्र स्थापनाको प्रक्रियाअघि बढाइएको मन्त्री खापुङले जानकारी दिए । अनुसन्धानबाट प्राप्त नतिजा र रोगको भार र प्रकृतिका आधारमा यससम्बन्धी स्वास्थ्यसम्बन्धी सेवा थप विस्तार गरिने उनको भनाइ छ ।