समाचार

नेपाली सेनाद्वारा बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक खण्ड निर्माण कार्य सम्पन्न

२७ असार, काठमाडौँ । नेपाली सेनाद्वारा बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग अन्तर्गत १८ किलो मिटर सडक खण्डको निर्माण कार्य सम्पन्न गरेको छ ।
सेनाद्वारा निर्माणाधिन गोरखा जिल्लास्थित बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक आयोजना अन्तर्गत धार्चे गाउँपालिका वडा नं. ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं. ३ स्थित दोभानसम्मको १८ कि.मि. सडक खण्डको ट्रयाक निर्माण कार्य सम्पन्न गरी आज नेपाली सेनाका बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभाग अन्तर्गत ११ किलो छेपेटार-भालुस्वाँरा-वारपाक सडक योजना, गोरखाका प्रमुख सि.डि.ई. पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेका छन् ।

२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू-बनोट आदिका कारण उक्त सडक खण्डको ट्रयाक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भए अनुरुप नेपाली सेनाद्वारा २०७४ बैशाख ११ गतेबाट ट्रयाक खोल्ने कार्य शुरु गरिएको थियो । उक्त सडक खण्डको निर्माण पश्चात गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्‍जालमा जोड्नुका साथै उक्त सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।