खेलकुद

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

२८ असार, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि राजधानीमा सुरु भएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आज आयोजित एक कार्यक्रममा उक्त प्रतियोगिताको उद्घाटन गरे। सो अवसरमा उनले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए। उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्च पास्ट गरेका थिए । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स सङ्घले व्यवस्थापन गरेको ‘बी बोयिङ’ मनमोहक थियो ।

ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएका थिइन् । पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड खेलकुदको उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको हो । 

निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गरे । विभिन्न छ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेस प्रदेशबाहेक पाँच प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५०० खेलाडी सहभागी छन् । 

एथलेटिक्समा २६, करातेमा आठ, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशि रु नौ लाख ४५ हजार रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।