पर्यटन/संस्कृति

भाषा र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने : पर्यटनमन्त्री श्रेष्ठ

३१ असार, जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यापति पुरस्कार कोषद्वारा आज जनकपुरधाममा आयोजित नेपाल विद्यापति पुरस्कार २०७८ वितरण कार्यक्रममा बोल्र्दै मन्त्री श्रेष्ठले मुलुकको सांस्कृतिक नीति अझै सङ्घीयता अनुरुप हुन नसकेकाले परिवर्तित समयानुकूल सांस्कृतिक नीतिमा परिमार्जन गरिने बताए ।

“मुलुकमा सङ्घीयता कार्यान्वयन भइसक्यो, धेरै कुरा सङ्घीयताको मर्म र भावना अनूकुल भइसकेको छ”, मन्त्री श्रेष्ठले भने,“ तर सांस्कृतिक नीति अझै पनि सङ्घीयता अनुरुप हुन सकेको छैन । त्यसैले हामी सङ्घीयता सुहाउँदो सांस्कृतिक नीति ल्याउन चाहेका छौँ ।” सिमान्तकृत समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि सांस्कृतिक नीति छिट्टै तर्जुमा गरिने उल्लेख गर्दै मैथिली भाषा र संस्कृतिको संरक्षणमा सरकार सधैँ प्रत्यन्तशील रहेको उनले बताए । 

मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट विसं २०६८ मा स्थापित विद्यापति पुरस्कार कोषले यस वर्षको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट डा सूर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्तालाई  पुरस्कृत गरेको छ ।   कोषका अध्यक्ष प्राध्यापक रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पाँचै श्रष्टालाई मन्त्री श्रेष्ठले सम्मानसँगै पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।