२ साउन, भक्तपुर । यहाँका प्रसिद्ध शिवालयमा एकमहिने साउने मेला सुरु भएको छ । साउनको पहिलो सोमबार आज बिहानैदेखि यहाँका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै एकमहिने साउने मेला सुरु भएको डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष तथा पूर्ववडाध्यक्ष किरण थापाले बताए ।
आज सोमबार भने मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको जानकारी दिँदै उनले भक्तपुरको जगातिबाट डोलेश्वर महदेव मन्दिर जाने दुई सडकलाई एकतर्फी यातायात सञ्चालन गरिएको, मन्दिरमा लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको जानकारी दिए।
बिहानैदेखि दर्शनार्थीको भीड लागेको जनाउँदै उनले एकमहिने मेलामा दिनभरि नै मेला भर्न सकिने भए पनि सोमबार र शनिबार भने निकै भीड लाग्ने बताए । मेलाको सुरुआतमै आइतबार स्थानीयले कलश यात्रा गरी चतुरर्भजाचार्य चुरामणि महाराजबाट मेलाको उद्घाटन गरिएको थियो भने सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगरपालिकाले धार्मिक क्षेत्रको विकास र प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको जनाउँदै डोलेश्वर मन्दिरको भौतिक संरचना र विकासमा नगरपालिकाले सहयोग गर्दै आएको बताए । उनले नगरपालिका क्षेत्रलाई शिव सर्किटको निर्माण गरी धार्मिक पर्यटनको विकास गर्ने बताए ।
त्यसैगरी सिपाडोलको अर्को प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । मनको आशा पूरा गर्ने महादेवका रुपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । डोलेश्वर हुँदै आशापुरी जान र नंखेल काँक्राबारी हुँदै आशापुरी जान दुईतर्फी सडक सञ्चालनमा आएपछि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो ।
त्यसैगरी सूर्यविनायक नंखेलस्थित नन्दीकेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ भने सूर्यविनायक नपास्थित सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र अग्लो महादेवका रुपमा चिनिएको कैलाश महादेवमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको छ ।
भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नाका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकदेखिका दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिर भरिभराउ भएका छन् ।





