खेलकुद

अभिषेक र राजुलाई स्पोर्टस् हव ब्याडमिन्टन उपाधी

१५ साउन, काठमाडौँ । तीनचुलीका अभिषेक गुरुङ्ग र राजु थापा स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा भएको प्रथम स्पोर्ट्स हव खुल्ला ब्याडमिन्टन प्रतियोगिताको शिर्ष २० बाहेकको पुरुष युगलको उपाधी उचाल्न सफल भएको छ । निकै नै रोचक भएको फाईनल खेलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९–२१, २१–११, २१–७ ले पराजित गर्दै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा सुर्यदर्शनका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडी रहे ।
कपनको लाखेपोखरीस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको शिर्ष २० बाहेकका महिला एकल तर्फको खेलमा कञ्चनपुरकी बिष्णा बिष्टले जित निकालिन् । उनले सुर्खेतकी अग्रीमा भण्डारीलाई २१–११, २१–१० को सोझो सेटले पराजित गर्दै उपाधी उचालेकी हुन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी अञ्जना राई र सर्लाहीकी निकिता लामा तेश्रो स्थानमा रहे ।
यु १७ ब्वाईज तर्फ सेनाका डेभिड थापा मगरले जित हात पार्दै उपाधी उचाले । थापामगरले सेनाकै कविर के।सी।लाई २१–१४, १७–२१, २१–१४ ले पराजित गर्दै उपाधी उचालेका हुन् । आयोजकको सुनिल कार्की र लाफा समुहको मनोजा फौदार तेश्रो स्थानमा चित्त बुझाउन सफल भए ।
पुरुष ४५ बर्ष माथिको खेलमा जेष्टका श्याम पराजुली र नविन श्रेष्ठको जोडीले जित हात पारे । उक्त जोडीले फाईनलमा पर्फेक्ट फिटनेश क्लबका पुर्णहरि होना र संजय कपालीको जोडीलाई २१–१८, २१–१७ को सोझो सेटमा पराजित गरे । खुश गुरुङ्ग र मानबहादुर रानाको जोडी र आईबिएमएसका किष्ण छयाम्जुङ्ग र राजेश शाक्यको जोडी तेश्रो स्थानमा रहे ।
यस्तै ५५ बर्ष माथिको प्रतिस्पर्धामा बुटवल ब्याडमिन्टनका नारायण प्रसाद घिमिरे र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीले बाजी मारे । उक्त जोडीले बशुन्धाराका पुर्ण चन्द्र जोशी र उमेश के।सी।को जोडीलाई २१–१६, १६–२१, २१–६ ले पराजित गरेर उपाधी उचाले । पाँचथरका मणि कदङ्गवा र गणेश सुब्बा र पोखराका रमेश भट्टचन र कमल थापाको जोडी तेश्रो स्थानमा रहे ।
सेवानिवृत कर्मचारीहरुको प्रतिस्पर्धामा आयोजकका सुरेन बहादुर आले र ईन्द्र महताको जोडीले आयोककै सनबहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाइृ २१–१४, २५–२७, २१–१५ ले पराजित गर्दै यस विधाको उपाधी उचाले । तेश्रो स्थानमा खुश गुरुङ्ग र मानबहादुर रानाको जोडी तथा सामाखुसीका बिष्णु राना र टिका थापाको जोडी रहे ।
स्थानिय तर्फको खेलमा आयोजकका अर्जुन मगर र दावा शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले आफ्नै क्लबका ग्याल्जेन शेर्पा र लाक्पा शेर्पाको जोडीलाई २१–१६, २१–२३, २१–१३ ले पराजित गरे । बालाजुका सन्तोष दाहाल र चन्द्र घलेको जोडी तथा काठमाण्डौका रुपाल बादे र दीपक खड्काको जोडी तेश्रो स्थानमा खुम्चियो ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, योनेक्सको नेपालका लागि आधिकारीक विक्रेता ईनास प्रा।लि।का प्रोपाईटर राजु बास्तोला लगायतले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरे ।
करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पारे । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पारे । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पारे । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पारे । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पारे । स्थानिय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैया हात पारे
प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको थियो ।