–कविता -गुरुराज घिमिरे
मान्छेहरु भन्छन् तँ बौलाइस्
अझ राजनीतिक मान्छेहरु त,
चिच्याएर भन्छन्,
हाँक्काहाँकी भन्छन्,
तँ सक्किईस्
आफूलाई प्रज्ञा र चेतना ठान्छस्
सधैं लागेको बोल्छस्
यक्षका सबै प्रश्नको
जवाफ दिन खोज्छस्
सबै मान्छे एकै हुन्
समान व्यवहार हुनुपर्छ भन्छस्
जनता भोकै भए
नाङ्गै भए भन्छस्
राज्य बिभेदी भयो
राजनीतिले सम्हाल्नुपर्छ
जनताको पीडा बुझ्नुपर्छ भन्छस्
देश, परदेश वरपरको बेदना
अभाव, संकट थाहा पाउनुपर्छ
रोग भोक महसुस गर्नुपर्छ
बिभेद उन्मुलन, अन्यायको अन्त्य
सबै सुधार्छु, ठिक गर्छु भन्छस्
गल्तीको बिरोध गर्छस्
अपराध औंल्याउँछस्
बिचरा तँ !
सकिन्छस्, अस्ताउँछस्,बिलाउँछस्
ए१ जोरी खोज्ने मान्छे ?
पौठेजोरी खेल्ने मुर्ख ?
कठैबरा बेहोसी र दुर्बुद्दी!
चुपचाप खानु पर्दैन मिलिमिली ?
ओइलाउँछस्,निदाउँछस्
होस् गर! भन्छन्
उफ! बिचराहरु
हो, म अमुर्त चेतना हुँ
असत्य,अधर्म र अन्याय
देखाउँछु, बताउँछु र औंल्याउँछु
ज्ञानको प्रकाश छर्छु सकेजति
न चिन्ता, न भय
न आश, न त्रास
बगरेलाई दिएको चेतावनी त होइन नि यो !
सिंहासनसँगको संवाद पो हो त
कर्त्तव्यको अधिकारीले
बुझ्नु पर्दैन यत्ति कुरा ?
सत्य दण्डित हुन्छ थाहा छ!
सत्य घरबाट निस्कदा
झुटले आधा संसार घुमिसक्छ
त्यो पनि थाहा छ
के फरक पर्छ र ?
भोग्दै आएको बिषम परम्परा
किन्तु सर्वनास् हुनेछ मान्यवर
ढल्नेछ असंगतिको धरहरा
झट्ट बुझ र पाइला चाल
आँधी आउँदैछ असामान्य
सास लिन सक्ने छैनौ
छट्पटाउने छौ
गुहार माग्नेछौ तड्पिएर !
समय छदै
सम्हाल आफूलाई
सम्मान गर दुनियाँलाई
अध्याँरोले छोप्नु अघि !!