खेलकुद

‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ बाट सात खेलाडी सम्मानित

१९ साउन, काठमाडौँ । खेलकुद क्षेत्रमा योगदान पु¥याएबापत सात खेलाडी ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ बाट सम्मानित भएका छन् ।

हाम्रो खेलकुद डट कमको आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा खेल क्षेत्रमा आआफ्नो समयमा महत्वपूर्ण योगदान गरेका धावक जीतबहादुर केसी र धावक वैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी सङ्गिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्वकप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भए ।  

सम्मानित खेलाडीले जनही रु २५ हजारसहित सम्मानपत्र प्राप्त गरे । सम्मानित व्यक्तित्वलाई सांसद गगन थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, काभ्रे बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । 

जीतबहादुर केसीले झण्डै पाँच दशकअघि एशियन एथलेटिक्स च्याम्पियनसिपमा कास्यपदक हात पारेका थिए । फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले दुई घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरेका थिए। उनले जितेको नेपालको त्यो नै पहिलो अन्तराष्ट्रिय पदक हो ।

सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी नै पहिलो नेपाली हुन् । सन् १९८७ मा भएको तेस्रो सागमा उनले म्याराथनमा कीर्तिमान रचेका थिए । त्यतिबेलाको उनको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म भङ्ग हुन सकेको छैन ।

सागको पहिलो संस्करण सन् १९८४ र छैटौँ १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए। छैटौँ संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्र्याउँदा उनी टोलीको कप्तान थिए । प्रशिक्षकका रुपमा सन् २०१६ मा भारतमा भएको सागको १२औँ संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई उनले स्वर्ण दिलाएका थिए। 

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन सुरु गरे पनि सङ्गिनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेका थिए । स्वदेशमा आयोजना भएको १९९९ को आठौँ र २००४ को नवौँ सागमा स्वर्णपदक जितेका थिए । उनी तेक्वान्दोकी एशियन च्याम्पियन पनि छन् ।

दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौँ सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए । त्यस्तै उनले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जितेका थिए। छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीका रुपमा पनि उनले बेजिङ ओलम्पिक २००८ खेलेका थिए । 

पारस नेपाली क्रिकेट इतिहासका सफल कप्तान र खेलाडी छन् । नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप सन् २०१४ खेल्दा होस् वा सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पहिलो उपाधि डिभिजन पाँच हुँदै चार र तीनको उपाधि उनकै नेतृत्वमा नेपालले जितेको थियो । 

तीन वर्षअघि नैपालमा नै भएको १३औँ सागमा गौरिकाले चार स्वर्ण पदकसहित नौ पदक जितेका थिए । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेका थिए ।