पर्यटन/संस्कृति

साउनको चौँथो सोमबार : टन्टलापुर घाममा हजारौँ भक्तजन पशुपति क्षेत्रमा

२३ साउन, काठमाडौँ । साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ । साउनको चौँथो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड छ ।

विगतका तीन वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुपतिनाथको दर्शनका लागि टन्टलापुर घाममा घण्टौँ लामबद्ध भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विगतका तीन सोमबार बिहानैदेखि वर्षा हुने गरेको थियो । आज भने बिहानैदेखि काठमाडौँ उपत्यकामा घाम लागिरहेको छ । भक्तजनलाई विगतका सोमबार साउने झरिले पनि लाम लाग्न रोकेको थिएन ।

यसैगरी आज भने टन्टलापुर घाम लाग्दा पनि भक्तजन डगमगाएका छैनन् । छाता ओढेर भए पनि भगवानलाई शुद्ध जलसहित पूजाआराधना गर्ने धोकोले लाममा बसेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा दर्शन एवं पूजा, आराधनाका लागि लाम लाग्ने भक्तजनमा दुई तिहाई भन्दा धेरै महिला छन् । साउनको सोमबार अधिकांश महिला पारिवारिक सुख, शान्तिको कामनाले व्रत बस्ने गर्छन् । यसैकारण पशुपति क्षेत्रमा जम्मा हुने अधिकांश भक्तजन महिला भएको कोषको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

साउनको सोमबार विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा विवाहित महिलाको मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैगरी अविवाहित महिलाले सुयोग्य वर प्राप्त गर्ने विश्वास रहिआएको छ । यसै विश्वासका आधारमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ । दक्षिणकाली नगरपालिकाबाट पशुपतिनाथमा दर्शनका लागि आएकी सविता न्यौपाने बिहान नौ बजे आएर तीन घण्टा लाम बसेर मन्दिरभित्र प्रवेश गर्न सफल भएको बताउछन् । विगतका सोमबार घर नजिकैका अन्य शिवालयमा पूजाआराधना एवं दर्शन गरेपनि कम्तीमा एउटा सोमबार भने पशुपतिनाथको दर्शन गर्ने चाहनाले पशुपति क्षेत्रमा आएको उनले सुनाए ।

राजधानीका सबै शिवालयमा भक्तजनको भीड

राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छन् । राजधानीका भित्री सहर एवं वरिपरिका नगरपालिकाका साना, ठूला शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । ती शिवालयमा विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै पूजाआराधना गरिरहेका छन् । साउने सोमबारको व्रत बस्नेले कुनै न कुनै शिवालयमा गएर पूजा, आराधना र दर्शन गर्ने गरेका छन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउछन् । महिलाले मात्र साउनको सोमबारको व्रत गर्ने भन्ने चर्चा शास्त्रीय नभएको उनले सुनाए । घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यसवर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ ।

विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

गोकर्णेश्वरमा बालयन्त्रको दर्शन गर्ने पुगे भक्तजन

राजधानीको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजाआराधना गर्ने प्राचीनकालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ ।

यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरी गोकर्णेश्वरमा भक्तजनको भीड लाग्ने गर्छ । वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिरको दर्शनका लागि राजधानीका साथै विभिन्न जिल्ला एवं भारतबाटसमेत भक्तजन आउने गरेका छन् । धार्मिक मान्यता अनुसार श्रीयन्त्रको पूजा आराधना गरेपछि बालयन्त्रको पनि पूजाआराधना गर्नुपर्ने मान्यताका आधारमा गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको हो ।

सुन्दरीजल–पशुपतिनाथ बोल बम यात्रीको लर्को

वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने परम्परा छ । साउनको चौँथो सोमबार आज पशुपतिनाथ काँवरिया समितिको आयोजनामा सुन्दरीजलबाट पशुपतिनाथ जल ल्याएर चढाउने भक्तजनको भीड लागेको छ ।

यसरी जल चढाउने परम्परालाई भक्तजनले ‘बोल बम’ भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा छ ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महिनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने शास्त्रीय मान्यता छ ।

नागेश्वरमा ४ बजेदेखि भक्तजनको लाम

पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोनाका बिरामी बढ्न थालेकाले दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी मास्क, स्यानिटाइजर वितरण गरी सक्दो दूरी कायम गरेर दर्शनको व्यवस्था मिलाइएकोे नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए ।

कोरोनाअघि मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लाग्ने गर्दथ्यो । साउन महिनाको सोमबार पारेर नागेश्वर महादेव मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने, मुद्दामामिलाको झन्झटबाट मुक्ति पाइने र कालसर्प योगको दोष जन्मकुण्डीमा भए त्यसबाटसमेत राहत मिल्ने धार्मिक विश्वास छ । यसैगरी काठमाडौँ उपत्यकाका अन्य शिवालय भक्तपुरको डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यसैगरी देशभरका अन्य शिवालयमा पनि साउनको चौँथो सोमबार भक्तजनको भीड लागेको छ । चान्द्रमास अनुसार भने आज साउन महिनाको अन्तिम सोमबार हो । सौरमास अनुसार भने साउन ३० गते अन्तिम सोमबार रहेको छ ।