अन्तर्राष्ट्रिय

इन्डोनेसियामा पिकअप भ्यान खोलामा खस्दा ८ जनाको मृत्यु

२३ साउन, जाकार्ता । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार बिहान पिकअप भ्यान गहिरो खाडलमा खस्दा आठ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटना प्रान्तको सिआमिस जिल्लाको सिबेरियम गाउँमा भएको हो । उक्त गाडीमा छिमेकी जिल्ला मजालेङ्काका बासिन्दा सियामिसमा विवाह समारोहमा सहभागी हुन सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सियामिसका प्रहरी प्रमुख टोनी प्रसेट्यो युधाङ्कोरोले स्थानीय सञ्चारमाध्यमलाई जनाएअनुसार छ यात्रुको घटनास्थलमै र अन्य दुईजनाको नजिकैको अस्पतालमा उपचारका क्रमाम मृत्यु भएको थियो ।
घाइते अन्य नौ जनाको भने स्थानीय अस्पताल र क्लिनिकहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने गाडीको ब्रेक फेल भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।