गण्डकी प्रदेश

म्याग्दीको रिखारमा यस वर्षदेखि नियमित पूजा

२७ साउन, गलेश्वर । जनैपूर्णिमाका दिन म्याग्दीको रिखार क्षेत्रमा सप्तऋषिको विशेष पूजाआजासहित मेला लाग्ने लागेको छ । हिन्दूहरुको धार्मिक ग्रन्थ श्रीमद्भागवतका अनुसार सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष पूजासहित मेला आयोजना गरिएको हो ।

दुई वर्षसम्म कोभिड–१९ को सङ्क्रमणका कारण पूजा रोकिएकामा यस वर्ष स्वास्थ्य मापदण्डको पालना गरी क्षमा पूजासहित मेला आयोजना गरिएको हो । धर्तीको स्वर्ग र हिमाली देवताको बासस्थान भनेर चिनिने पवित्र रिखार क्षेत्र रघुगङ्गा गाउँपालिका–८ कुँइनेमङ्गलेमा पर्दछ । यो क्षेत्र धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त छ । 

हिन्दू धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार वैदिक समाजका आरम्भकर्ता सप्तऋषीलाई मानिन्छ । मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुङ्गामा चढी सुरक्षितस्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धौलागिरि पर्वतलाई समुद्रका बीचमा माथि उठेको देखेको र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख छ ।

पुराणमा उल्लेख भएअनुसार पुलहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा मानसरोवरधाम, दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम छन् । वाल्मीकि गुफा, अरुन्धती गुफा र सप्तऋषि गुफा यस क्षेत्रमा छन् । डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्यपुराण र श्रीमद्भागवत् महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको पण्डित भीमनाथ पराजुलीले बताए । सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ ।

हिन्दूका विभिन्न धार्मिक ग्रन्थमा रिखार क्षेत्रका बारेमा वर्णन गरिएको भए पनि यस क्षेत्रको प्रचारप्रसार हुन नसकेको  पण्डित नीलकण्ठ आचार्यले बताए । सप्तऋषिले तपस्या गरेको यस क्षेत्रमा हरेक वर्ष विशेष पूजाआजासहित मेला लाग्छ । यस वर्ष सावधानी अपनाएर पूजालाई निरन्तरता दिइएको  रिखार युवा क्लबका संरक्षक अङ्कीत पुनले बताए ।  

रिखार क्षेत्र समुद्री सतहदेखि चार हजार छ सय मिटरको उचाइमा अवस्थित छ । यहाँ पुग्ने हरेक भक्तजन र पर्यटक यहाँको प्राकृतिक छटा देखेर लोभिने गर्दछन् । पछिल्लो समय कुँइनेमङ्गले नजिक सवारी साधन पुगेपछि यस वर्ष यहाँ उल्लेख्य भक्तजन आएका क्लवका संरक्षक पुनले बताए।