अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पनि बाढीको असर, सत्रको मृत्यु


३० साउन, चरकार । अफगानिस्तानमा आएको बाढी पहिरोका कारण कम्तीमा सत्र जनाको मृत्यु भएको छ ।देशको शिनवारी र सियागुर्ड जिल्लामा आइतबार आएको बाढी पहिरोका कारण मानवीय र भौतिक क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

शिनवारीका जिल्ला प्रमुख मुल्लाह खान मोहम्मदले सोमबार दिएको जानकारीअनुसार आइतबार बेलुका अत्यधिक बर्षापछि बाढी पहिरो आएको हो ।
मृत्यु भएका मध्ये शिनवारीका १३ जना र छिमेकी जिल्ला सियागुर्डका चार जना रहेको पनि उनले बताए ।

बाढी पहिरोका कारण अरु पनि कतिपय गाउँलेहरु बेपत्ता भएको बताइएको छ । यस बारेमा थप विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् ।
बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको र त्यसका लागि उद्धारकर्ता तथा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । बाढी पहिरोका कारण मृत्यु भएका, बेपत्ता भएका, घाइते भएका र क्षति भएकाको विवरण स्पष्ट भइनसकेको सरकारी अधिकारीहरुको भनाई छ ।

गत महिना मात्रै अफगानिस्तानमा बाढी पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको र धेरै भौतिक संरचनामा क्षति भएको थियो ।