स्वास्थ्य

एचआइभी सङ्क्रमितलाई औषधिले सहज

३१ साउन, रामपुर । एचआइभी सङ्क्रमितलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सङ्क्रमितलाई निकै राहत मिलेको छ । नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो ।

हाल यस अस्पतालबाट नियमित औषधि सेवन, परामर्श सेवा र परीक्षण सेवा दिइएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो । बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनबाट रामपुर अस्पतालले सङ्क्रमितलाई औषधि  वितरण सेवा सुरु गरेको हो । अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० जना सङ्क्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउँछन्। 

रामपुरकी ३२ वर्षीया एक युवतीले रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताउँछन् । दुई वर्ष अघिदेखि उनले युनाइटेड मिसन अस्पतालबाट नियमित रुपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आएका थिए । उनीसहित परिवारका चारजना सदस्य एचआइभी सङ्क्रमित छन् । नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो । अहिले भने गाउँमै रहेको रामपुर अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरु बताउँछन् । 

एचआइभी सङ्क्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने सङ्क्रमितहरु आफ्नो अनुभव बताउँछन् । यस क्षेत्रमा एचआइभी सङ्क्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरा लगायतका क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएका थिए । उनीहरुलाई स्थानीयस्तरमा नै रहेको अस्पतालबाट सेवा दिनुपर्ने भन्ने मनसायले सेवा दिन थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् । पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् ।