अन्तर्राष्ट्रिय

अफगान बाढीमा एकतीस जनाको मृत्यु, कैयौँ बेपत्ता

३१ साउन, काबुल । अफगानिस्तानको उत्तरी क्षेत्र परवानमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ३१ जनाको मृत्यु हुनाका साथै १७ जना घाइते भएका छन् ।

तालिबान नियन्त्रित बख्तर राज्यको समाचार समितिले दर्जानौँ वेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने जनाएको छ । हिन्दुकुश पर्वत शृङ्खलामा अवस्थित देशको पहाडी प्रान्त परवान मूसलधारे वर्षापछिको बाढीले धेरै आवासीय भवन र सयौँ एकड खेतीयोग्य जमिनमा क्षति भएको छ ।

बाढीका कारण परवान–बम्यान राजमार्ग अवरुद्ध भएको छ पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जशिर प्रान्तलगायत अन्य धेरै प्रान्तमा पनि त्यसको असर परेको छ । विगत केही दिनदेखिको अविरल वर्षा र आँधीले देशका पूर्वी र मध्य क्षेत्रका तीन प्रदेशका अनेक गाउँबस्ती पनि प्रभावित भएका छन् । बाढीले सयौं आवासीय संरचना, हजारौँ एकड खेतबारी र दर्जनौं बगैँचामा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

करिब दुई साताअघि पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा आएको बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने धेरैजना घाइते भएका थिए । पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानकको बाढीले ठूलो धनजनको क्षति भएको तथा करिब दुई हजार नौ सय घरमा क्षति भएको छ । सडक र पुलहरू जस्ता महत्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन् । मनसुनी वर्षा र बाढीका कारण अफगानिस्तानमा चार सय जनाको मृत्यु भइसकेको बताइएको छ ।

यसैबीच, अफगानिस्तानको मौसम विज्ञान विभागले भोलि देशभरका २२ प्रान्तमा भारी वर्षा र बाढीको सम्भावना रहेको जनाउँदै सबैलाई सतर्क रहन चेतावनी दिएको छ ।