अन्तर्राष्ट्रिय

चीनमा बाढीबाट सत्रको मृत्यु, सत्र बेपत्ता

३ भदौ, सिनिङ । चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् ।

ती हराएका व्यक्तिको खोजी भइरहेको बताइएको भए पनि उनीहरु भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरुले जनाएका छन् । स्थानीय समयानुसार बुधबार राती १०।२५ देखि सुरु भएको भिषण बर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ ।

धेरै माटो बोकेर आएको बाढीले नदिको वहाव परिवर्तन गरेकाले पनि धेरै क्षति भएको अधिकारीहरुले जनाएका छन् ।बाढीबाट छ गाउँका छ हजार दुई सय ४५ घर प्रभावित भएका छन् । ती मध्ये दुई भवन पूर्ण रुपमा र १४ भवन अत्यधिक क्षति भएको छ ।

बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सय भन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरुका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ ।

सेना प्रहरी र उद्धारकर्मीहरु गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटिएका छन् । उनीहरुले बिहीबार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन् ।

यहाँ बुधबार बिहानदेखि अविरल रुपमा वर्षा भएको छ । बाढीमा परेर हराएका व्यक्तिको खोजी कार्य भइरहेको उद्धारकर्मीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार यहाँका छ हजारजना भन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन् । उनीहरुलाई विद्यालयहरुमा आश्रय दिएर राखिएको छ ।
वर्षा जारी नै रहेकाले थप क्षतिबाट बच्नका लागि सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ ।