स्वास्थ्य

डा.शर्माद्वारा मुटु तथा फोक्सोको परीक्षण

८ भाद्र, मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् । नोबेलबाट विशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

   डा.शर्माको योजना अनरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १७५ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । बृद्धबृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग विशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरुको टोली शिविरमा पुगेको थियो । शिविरमा १६५ जना बृद्धबृद्धाको मुटुको जाँच इको गरिएको छ ।

   जसमध्ये ५५ जना बृद्धबृद्धालाई थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरुलाई बुधबार नोबेल अस्पताल ल्याइने नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनीहरुलाई नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था मिलाइएको छ । डा.शर्माले बृद्धबृद्धालाई अस्पताल ल्याउँने, अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्ने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था मिलाइदिएका हुन् ।

   समाजसेवी व्यक्तिको पहिचान बनाएका डा.शर्मा बेलवारी निवासी हुन् । उनले बेलबारीसहित छिमेकी पालिकाहरु सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका विरामीहरुलाई वर्षौ अघिदेखि निःशुल्क एवं विशेष छुटमा उपचार गराउँदै आएका छन् । गाउँ–गाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिदै आएको छ । डा.शर्माले अहिले सो क्षेत्रमा एम्बुलेन्स क्याम्प पनि सञ्चालन गराइरहेका छन् ।