राजनीति

गठबन्धन गर्दा काँग्रेसले १०० सीट नपाए बिद्रोह हुन्छः बरिष्ठ नेता डा कोइराला

१९ भदौ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले काँग्रेसले एक सय सीट नपाए बिद्रोह हुने चेतावनी दिएका छन् ।
पाँच दलीय गठबन्धन सफल पार्दै काँग्रेसले बढी सिट जित्न गठबन्धन गर्नुपर्ने भएपनि अन्य कुराहरु भएको असन्तुष्टी पोखेका छन् ।
उनले आफूले नेकपा माओबादी अध्यक्ष पुस्पकमल दहालसँग पनि १०० सीट नपाए बिद्रोह हुने भनेको र उक्त सहमती नगर्दा काँग्रेसले नमान्ने बताएका छन् ।

डा कोईराला भन्छन्, ‘कांग्रेसले सयभन्दा कम सिटमा सम्झौता गर्ने हुन्न । गरेमा पार्टीभित्रको असन्तुष्टि बढ्ने र त्यसले धेरै ठाउँमा विद्रोहको स्थिति आउने खतरा छ ।’

उनले भनेका छन्, ‘अझै मैले भागबण्डाको कुरा गरिरहेको छैन । जहाँ जसले जित्ने बलियो आधार छ, उसलाई कुन गुटको भन्ने कारणबाट रोक्ने होइन । जित्न सक्नेलाई टिकट दिनुपर्छ, यसो गर्दा न्यायोजित हुन्छ, न्यायोजित निर्णय लिदा सम्म भागबण्डा खोज्ने काम हुन्न’
काँग्रेस बरिष्ठ नेता डा कोईरालाले पहिलेदेखी नै गठबन्धन नै गर्नुहुन्न बताउँदै आएपनि पछिल्लो समयदेखी गठबन्धन गर्दा एक सय सीटको भागबण्डा कँँग्रेसले पाउनुपर्ने अडानमा रहेका छन् ।
काँग्रेसले पछिल्लो समय ८६ सीट काँग्रेसले लिने र त्यसमा केही सीट अन्य पार्टीलाई दिने सहमती गरेको अवस्थामा काँग्रेस बरिष्ठ नेता डा कोईरालाको फरक विचार आएको हो ।
यसअघि काँग्रेस महामन्त्री गगन थापालगायतका कोईराला पक्षका उच्च तहका नेताहरुले पनि काँग्रेसले गठबन्धन गर्दा १०० सीट कम्तीमा पाउनुपर्ने बताउँदै आएका थिए ।