२३ भदौ, काठमाडौं । जननायक वीपी कोइराला साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ साहित्यकार प्रा डा कृष्ण गौतम र जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान तथा पुरस्कार शान्ति कार्कीलाई प्रदान गरिएको छ ।
जननायक वीपी कोइराला स्मृति ट्रष्टले वीपीको १०९औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले उक्त पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।
जननायक वीपी कोइराला साहित्य सम्मान तथा पुरस्कारको राशि रु एक लाख एक हजार र जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान तथा पुरस्कारको राशि रु ५१ हजार नगद र प्रशंसापत्र रहेको छ ।
नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका वरिष्ठ साहित्यकार गौतम र विसं २००७ देखि कांग्रेसमा सक्रिय रहेर प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएकी वीरगञ्जकी ९२ वर्षीय कार्कीलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।
गत वर्षको जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान भक्तपुरका तिलक कायस्थलाई प्रदान गरिएको छ । निरन्तर १६ वर्ष भक्तपुर कांग्रेसको सभापति बनेर काम गर्नुभएका कायस्थ विसं २००७ देखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । कायस्थले ‘झुक्न नसक्ने राजनेता वीपी कोइराला’ नामक पुस्तकसमेत प्रकाशन गरेका छन् ।
सम्मानित डा गौतमले वीपी कोइराला राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय नेतासमेत भएको बताए । सम्मानित व्यक्तित्व कार्कीले वीपी र किसुनजीको आदर्श र प्रेरणाबाट आफू राजनीतिमा अगाडि बढेको स्मरण गरे । कार्यक्रममा डा गोविन्दराज भट्टराईद्वारा लिखित ‘वीपी साहित्यको अभिलेख’, डा साधना प्रतिक्षाद्वारा लिखित ‘वीपी कोइरालाको उपन्यासमा नारीवाद’ र लीला रानाद्वारा लिखित ‘वामरी फूल’ र ‘ए पाहुनी’ कृतिको विमोचन गरिएको थियो ।
‘वीपी साहित्यको अभिलेख’ पुस्तकबारे बोल्दै लेखक डा भट्टराईले वीपीका १६ कृतिको, जेल बस्दा लेखेको डायरी र जर्नललाई अध्ययन गरेर उक्त पुस्तक तयार पारेको बताए । वीपीबारे नबुझेको र नबुझाएको कुरालाई उक्त कृतिमा समावेश गरिएको उनको भनाइ छ । ‘वीपी कोइरालाको उपन्यासमा नारीवाद’ पुस्तकबारे लेखक डा प्रतिक्षाले वीपीको कृतिमा ओझेलमा परेको नारीवादी चिन्तनलाई पुस्तकमार्फत बाहिर ल्याएको बताए ।
रानाद्वारा लिखित ‘वामरी फूल’ र ‘ए पाहुनी’ कृतिकाबारेमा राष्ट्रिय गानका रचयीतासमेत रहनुभएका प्रदीपकुमार राई ‘ब्याकुल माइला’ले मगर भाषा र नेपाली भाषामा लेखिएका उक्त कृतिले समाजवादको वर्तमान विषयवस्तुलाई उजागर गरेको बताए । ट्रस्टका सम्मानित सदस्य पुरुषोत्तम बस्नेत र प्रा डा ज्ञानु पाण्डेले वीपीको साहित्य र राजनीतिक क्षेत्रलाई अगाडि बढाउनका लागि ट्रस्टले काम गर्दै आएको बताए ।