आर्थिक

उद्योग सङ्गठन मोरङः सत्र नवउद्यमी छनोट

१ कात्तिक, बिराटनगर । उद्योग सङ्गठन मोरङले यस वर्ष १७ वटा नवीन व्यावसायिक ‘आइडिया’लाई स्टार्टअप उद्यमीका रुपमा छनोट गरेको छ । नवीन सोच विचार तथा अवधारणा भएका युवालाई उद्यमशीलतामा रुपान्तरणका लागि सहजीकरण गरी नयाँ व्यवसायको सिर्जना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले सङ्गठनले गत वर्षदेखि सञ्चालन गरेको ‘स्टार्टअप एण्ड इनोभेशन’ कार्यक्रमअन्तर्गत दोस्रो ब्याचका लागि १७ युवा उद्यमी छानिएका हुन् ।

यस वर्ष छानिएका नवउद्यमीमा छ जना महिला र ११ जना पुरुष छन् । छनोट भएका स्टार्टअपलाई गत असोज २७ देखि ३० गतेसम्म चार दिनको बुट क्याम्पमा राखी विजनेश हेल्थ चेकअप गरी मेन्टर तथा विजनेश कोचसँग म्याच मेकिङ गरी चार दिने बुट क्याम्प सम्पन्न भएको छ । नवउद्यमीलाई सघाउन कार्यक्रमअन्तर्गत १८ जना मेन्टर, पाँच जना विजनेश कोच र छ जना स्टार्टअपफेलो समेत चयन गरिएको छ ।

कार्यक्रमअन्तर्गत छनोट भएका स्र्टाटअपको व्यावसायिक योजना तयारी, सोअनुरुप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरसीप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जसअन्तर्गत विजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभित्र विषयगत कार्यक्रमका माध्यमबाट १२ महिना व्यावसायिक सेवा उपलब्ध गराउँदै आवश्यक पर्ने लगानीमा समेत सहजीकरण गरिने कार्यक्रम रहेको सङ्गठनका स्टार्टअप कार्यक्रमका समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए ।

कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, स्वीस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रालि, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्चलगायतका संस्थासँगको सहकार्य गरिएको छ ।

स्टार्टअप व्यवसायको प्रवद्र्धन र विकासका लागि सरकार, अनुसन्धानमूलक संस्था एवं निजी क्षेत्रबीच समन्वय गरी प्रदेश नं १ को नमूनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकीय एवं प्राविधिक सेवाको दिगो इकोशिष्टमको जग बसाल्ने लक्ष्यका साथ सङ्गठनले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत गएको वर्षदेखि सङ्गठनले प्राथमिकताका साथ यो कार्यक्रमलाई अघि बढाएको छ ।