कृषि

मकैबाट मनग्य आम्दानी

७ कात्तिक, बलेवा । बागलुङको बडिगाड–१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्छन् । उनको यस वर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना छ ।

यहाँकैै गनबहादुर सुनारले चार हलको मेलोमा मकै लगाउन थालेको बताए । मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर तीनचार मुरी सङ्कलन केन्द्रमा पठाउने लक्ष्य उनले बनाएका छन् । दगातुम्डाँडा कृषि सहकारी संस्थामार्फत किसानलाई उन्नत बीउ वितरण भएको थियो । उक्त बीउबाट उत्पादित मकै सहकारीमार्फत बेचेर किसानलाई आम्दानी दिने योजना सहकारीका अध्यक्ष भीमसेन वनले जानकारी दिए ।

यसरी जोगाएको मकै गाउँमा बनेको भण्डारन केन्द्रमा सङ्कलन गर्न थालिएको छ । भण्डारन केन्द्रमा राखेर बजार पठाउने गरी यो वर्ष यहाँ भवन बनेको छ । मकै बजारमा बीउको रुपमा बिक्री गर्ने लक्ष्यले भवन निर्माण बनाइएको हो । किसानले नगदै सङ्कलन गरेर रु छ लाख पु¥याएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रु ३० लाख लगानी गरेको हो । स्थानीयले खोजेको दुई रोपनी दुई आना जमिनमा परियोजनाको रु ३० लाख बजेट विनियोजन भएपछि भन्डारन केन्द्र बनाइएको वनले बताए । उक्त भण्डारन केन्द्रमा २२ टन मकैको बीउ सुरक्षित गर्न सकिने व्यवस्था छ । दगातुम्डाँडा कृषि सहकारी संस्थाका दुई सय बढी किसानले व्यावसायिकरुपमा मकैखेती गर्दै आएका छन् । 

 सामूहिक भण्डारन गर्ने, बीउ लगाउने र बेच्ने योजनासमेत बनाएपछि भवन ठडिएको सहकारीका सदस्य रेमबहादुर भुजेलले बताए । “भवन आधुनिक र मुसाबाट बचाउने गरी बनेको छ, त्यसैले यो वर्ष मकै जोगिने भयो”, भुजेलले भने, “अर्को वर्ष दोब्बर उत्पादनसमेत गर्ने योजना छ ।” किसानले मनकामना तीन जातको मकै लगाएको उनले बताए । 

यो वडा समुद्री सतहदेखि एक हजार दुई सयदेखि दुई हजार मिटरसम्मको उचाइमा छ । त्यसैले मकैको उत्पादन अत्यधिक हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । भवनसँगै यहाँ कृषिउपज बिक्री केन्द्र पनि बनाइएको छ । गाउँपालिका, ज्ञानकेन्द्र र स्थानीयको श्रमदानसमेत गरी रु १५ लाखको लागतमा बिक्री केन्द्र बनेको हो । यो केन्द्रबाट स्थानीयरुपमा बिक्री गर्ने र धेरै उत्पादन हुँदा अर्डरअनुसार ढुवानी गरेर पठाउने योजना वनले सुनाए । 

उत्पादन बढाउन यो वर्षदेखि यहाँका किसानले देउती र शीतला जातको मकै पनि ल्याएका छन् । दगा, तुम्डाँडा, गहते, सिमलचौरलगायतका बस्तीमा पनि मकै खेती विस्तार गरिएको छ । गत वर्ष गलकोट नगरपालिकाले खरिद गर्न विनियोजन गरेको बजेट बीउ नपाएर फ्रिज भएपछि यहाँका किसानले मकै संरक्षण थालेका हुन् ।