राजनीति

मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री : अध्यक्ष दाहाल

२३ कात्तिक, खलङ्गा । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताएका छन् ।

उनले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गरे। पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष दाहालको भनाइ थियो ।

भूमि फिर्ताका विषयमा उनले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिए । “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उनले भने, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।”

सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुन्। उनीसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहेका छन् ।