राजनीति

निर्वाचनले देश र जनताको भविष्य बनाउँछः अध्यक्ष लिङ्देन

२४ कात्तिक, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीररुपमा लिन आग्रह गरेका छन् ।

आगामी मङ्सिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो । सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन र विकासको लागि आगामी निर्वाचनमा राप्रपालाई मत दिन आग्रह गरे ।

सोही चुनावीसभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वध्यक्ष पशुपति शमशेर राणाले समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र त्यसका लागि आगामी निर्वाचनमा मत दिन आग्रह गरे । उनले संसद्मा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने बताए ।