१७ पौस, काठमाडौं । इतिहास एवं संस्कृतिविद् ज्ञानमणि नेपाललाई यस वर्षको राष्ट्रिय धरोहर सम्मान प्रदान गरिएको छ ।
दसौँ अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवसका अवसरमा आज यहाँ राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा नेपाललाई नगद रु ११ हजार एक सय ११ राशि नगदसहित सम्मान गरिएको हो । नेपालले नेपाली राष्ट्रिय पोसाक, नेपाली झण्डालगायत पहिचानको संरक्षणमा लेख, प्रवचनका माध्यमबाट आवाज उठाउँदै आएका छन् ।
कार्यक्रमलाई सम्बोधन गदैए तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ले शपथ लिँदा राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाउनु पोसाक अभियानको सफलता भएको बताए । दौरा, सुरुवाल र टोपीले विदेशमा आयोजना हुने कार्यक्रममा जाँदा नेपाली भनेर चिनिने भएकाले यसको मौलिकता महसुस हुने उनको भनाइ थियो ।
“नेपालको भ्रमण गरेर फर्किएका विदेशीले दौरा, सुरुवाल र टोपी लगाएर गएपछि नेपालबाट हो ? भनी सोध्ने गरेका छन्, यसैले यो नेपालको मौलिक पोसाक हो, चन्द्र र सूर्य रहेसम्म नेपालको सार्वभौमसत्ता रहिरहन्छ भन्ने अर्थ बोकेको झण्डा नेपालको भएकाले संविधानसभाबाट पनि त्यसलाई पारित गरिएको हो”, नेता नेम्वाङले भने ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले नेम्वाङकै अध्यक्षतामा रहेको संविधानसभाले राष्ट्रिय पोसाकका रुपमा रहेको दौरा, सुरुवाल हटाएकाले कार्यक्रममा ताली बज्ने भाषण गर्नु नहुने भनाइ राखे । विसं २०२८ को शिक्षा नीतिदेखि नै नेपालको मौलिकता मास्ने अभियान चलाइएकाले त्यसको परिवर्तन गरिनुपर्नेमा उनले जोड दिए । “वर्तमान संविधानले राजनीतिक स्थिरता दिन नसकेकाले यसको विकल्प दलहरूले सोच्नुपर्छ, यस विषयमा मैले पार्टीभित्र पनि बहस सुरु गरेको छु, भारत भ्रमणमा जाँदा महात्मा गान्धीको समाधिस्थलमा पुष्पार्पण गर्ने हामीहरू सिंहदरबार जाँदा किन पृथ्वीनारायण शाहको सालिकलाई वास्ता गर्दैनौँ भन्ने चिन्तन, मनन गर्नुपर्ने समय आएको छ”, नेता भण्डारीले भने ।
सम्मानित व्यक्तित्व नेपालले गणतन्त्रपछि राष्ट्रिय धरोहरका विषयवस्तु मास्न थालिएको बताए । मालव गणको संवत्सर नै विक्रम संवत् भएकाले यो गणतन्त्र संवत् हो तर राजाले चलाएको भनी दुष्प्रचार गरिएकामा उनले आपत्ति जनाए ।
कार्यक्रममा राप्रपाका नेता डा गोविन्दराज खनियाँ, राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णाकुमारी पौडेल खतिवडा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डव्य बजगाइँ, कार्यक्रम संयोजक राजन कोइरालालगायतले राष्ट्रिय पोसाक, मौलिक धर्म, संस्कृतिको संरक्षण गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा किताब जात्राको अभियान चलाउने युवा उद्यमी ऋषिराम अधिकारीलाई राष्ट्रिय धरोहर युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा पोसाक दिवस मनाउन सहयोग गर्ने विभिन्न व्यक्ति एवं संस्थालाई सम्मानसमेत गरिएको थियो ।