समाचार

गृहमन्त्री दिन प्रधानमन्त्री सकारात्मक नभएपछि रास्वपा सरकारबाट बाहिरिने संकेत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । मंगलबार भएको भेटमा रविले पुनः गृहमन्त्री बनाउनुपर्ने माग गरेका थिए ।

रविले आफू पुन गृहमन्त्री बन्ने चाहना राखेपनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएका छैनन् । प्रचण्डले रविलाई सकारात्मक जवाफ नदिएपछि रास्वपा चिढिन पुगेको छ ।

रविले आफूलाई प्रधानमन्त्रीले सकारात्मक जवाफ नदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे पार्टीमा छलफल थालेका छन् । ‘पार्टीको केन्द्रीय समिति बैठकबाट नै सभापतिलाई पुनः गृहमन्त्रीको रुपमा सरकारमा सहभागी गराइनुपर्छ भनेर निर्णय भएको हो । सोही अडानमा हामी कायम छौँ’, एक नेताले भने।

स्रोतका अनुसार सरकारमा रहिरहने या बाहिरिने भन्नेमा आवश्यक निर्णय हुनेछ । रास्वपले पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसहित दलका नेताहरुसँग छलफल गरिरहेका छन् ।

पार्टीको निर्णयमा कुनै दायाँबायाँ नहुने बताउँदै एक नेताले भने, ‘पार्टीले गरेको निर्णय र पार्टीले बैठकपछि प्रेस मिट गरेर सार्वजनिक गरेको धारणा कायम छ ।’

नागरिकताको केश सुल्झिएपनि पासपोर्टको केशले गर्दा रविलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र रविजीलाई समेत राम्रो गर्दैन भन्ने प्रधानमन्त्रीको बुझाइ छ ।