काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग बुधबार बालुवाटारमा छलफल गरेका छन् ।
भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन् ।
नागरिकता पुन: प्राप्ति गरेका रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने बताएका थिए ।





