समाचार

संसदमा रघुजी र शक्तिविरुद्ध सांसद शाहीको नियमापत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतको भनाई प्रति नियमापत्ति जनाएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले सहरी विकास मन्त्री विक्रम पाण्डेले चितवनमा आफ्नो दलले संघीयता र धर्मनिरपेक्ष नस्वीकार्ने बताएको भन्दै आपत्ति जनाएका थिए । यस्तै, सांसद शक्ति बस्नेतले व्यवस्था बदलियो अवस्था बदलिएन भनेर भाष्य बनाउन खोजिएको भन्दै व्यवस्था समस्याको कारण नभएको बताए ।

सांसद पन्त र बस्नेतले राखेको विषयमा आपत्ति जनाउँदै सांसद शाहीले संविधान बनाउने बेलामा संघीयता चाहिन्छ कि चाहिँदैन ? धर्मनिरपेक्षता चाहिन्छ कि चाहिँदैन भनेर जनताबाट संकलन गरिएको जनमत आज किन सार्वजनिक गरिएन भन्दै प्रश्न गरे ।

उनले नेपालको संविधानको धारा २७४ नम्बरमा नेपालको केही विशेष कुराहरू परिवर्तन गर्न नसकिने उल्लेख गरेको बताउँदै गणतन्त्र चाहिन्छ कि चाहिँदैन भन्ने कुरा यही संसदबाट निर्णय गर्न सकिने बताए ।