काठमाडौं । निवर्तमान सांसद रवि लामिछाने पुन: चितवन निर्वाचन क्षेत्र २ बाट उपनिर्वाचनमा उठ्ने तयारीमा छन् । रवि मङ्सिर ४ गते भएको निर्वाचनमा ३४ हजार बढी मतान्तरले निर्वाचित भएका थिए ।
लामिछानेले ४९२६४ भोट प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८३ मत प्राप्त गरेका थिए । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाए । छोटो समयमा पार्टी दर्ता गरेर सांसद बनेका रवि उपप्रधान एवम् गृहमन्त्री समेत बने। तर उनको नागरिकता विवादका कारणले गर्दा उनले गृहमन्त्री बनेको एक महिनामै पदमुक्त भए ।
उनी मन्त्रीबाट मात्र नभई सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पनि पदमुक्त भए । त्यसपछि उनले पुन: आइतबार नेपाली नागरिकता लिएपछि उनी गैर सांसदको रुपमा पुन: गृहमन्त्री बन्ने दाउमा छन् ।
तर, प्रधानमन्त्री प्रचण्डले भने उनलाई गृहमन्त्री बनाउने चाहेका छैनन् । नेकपा एमालेले भने रविलाई नै गृहमन्त्री बनाउन दबाब दिएको छ । त्यस्तै, एमालेले चितवन- २ मा हुने उपनिर्वाचनमा पनि रविलाई सघाउने संकेत गरेको छ । एमालेले आफ्नो पार्टीबाट कुनै उम्मेदवारी नउठाई रविलाई नै सहयोग गर्ने तयारीमा छ ।
केही दिन अगाडि एमालेका महासचिव शंकर पोखरेलले सत्ता साझेदार भएकाले चितवनमा हुने उपनिर्वाचनमा सल्लाह गरेर सहमतिमा जाने बताएका थिए । उनले भनेका थिए, ‘सोभाविक रुपमा सत्ता साझेदार दलको नाताले गर्दा चितवनमा हुने उपनिर्वाचनमा सहमति अनुसार जान्छौँ । गत मङ्सिरमा भएको निर्वाचनमा जनताले रवि जीलाई म्यान्डेड दिएका छन् । त्यसैले गर्दा त्यसमा कुनै समस्या हुदैन ।’
सत्ता साझेदारहरू माओवादी केन्द्र, राप्रपाले पनि रविलाई नै सहयोग गर्न सक्ने नेताहरु बताउँछन् । रवि सत्ता साझेदार दलको एकल उम्मेदवार बन्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।
रविलाई सत्ता साझेदार दलको समर्थन नभए पनि उनले निर्वाचन जित्ने निश्चित छ । छोटो समयमा दल दर्ता गरेर निर्वाचनको पूर्ण रुपमा तयारीमा नजुटे पनि ४९,२६४ मत पाएका रविलाई नागरिकता विवादले गृहमन्त्री र सांसद पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाले गर्दा जनताले अझै मत दिन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।





