पु.समाचार

अदालतबाट कैदी पुर्जी बुझेर सांसद चौधरी कारागार चलान

२० माघ, धनगढी । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् ।

बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।