२१ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभाको दोस्रो ठुलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी रहेको बताएका छन् ।
पाँचौँ केन्द्रीय कमिटीको बैठकमा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा एमालेको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको आरोप लगाएका छन् ।
शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष नेपालले एमाले संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नभएको र विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिएको बताए ।