अन्तर्राष्ट्रिय

डुङ्गा दुर्घटना, नौ जना बेपत्ता

२२ माघ, सियोल । दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन् ।

दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुङ्गा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन् । गृह मन्त्रालयका अनुसार शनिबार राति सिनान काउन्टीको तटीय क्षेत्रमा २४ टन तौल भएको उक्त जहाज पानीमा पल्टिएको हो ।

चालक दलका तीन सदस्यलाई नजिकैको डुङ्गाले उद्धार गरे पनि दुई विदेशीसहित अन्य नौ जना हराइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बेपत्ताको खोजीका लागि एक दर्जनभन्दा बढी पानीजहाज, तटीय सुरक्षाकर्मी र नौसेनाका तीन वटा विमान परिचालन गरिएको जनाइएको छ ।

आन्तरिक मामिला मन्त्री ली साङ–मिनलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले चालक दलका अधिकांश सदस्यले डुङ्गा छोडेको अनुमान गरिएको छ । राष्ट्रपति युन सुक योलले उद्धारकार्यका लागि अधिकतम प्रयास गर्न आग्रह गर्दै खोजी क्षेत्र फराकिलो बनाउन ‘उपलब्ध सबै स्रोत साधन’ परिचालन गर्न आदेश दिएको उनको कार्यालयले जानकारी गराएको छ ।