समाचार

उन्मुक्ति पार्टी सबैले सधैं प्रयोग गर्न मिल्ने साधन नभएको अध्यक्ष श्रेष्ठको टिप्पणी

२६ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरु सबैले प्रयोग गर्न मिल्ने साधन नभएको टिप्पणी गरेकी छन् । बिहीबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै यस्तो टिप्पणी गरेकी हुन् ।

अध्यक्ष श्रेष्ठले टीकापुर घटनाप्रति राज्‍य अनुदार रहेको र यसबारे मानव अधिकारकर्मीहरुले आँखा चिम्लेको आरोप लगाएकी छिन् । आफूहरुलाई उचाल्नेहरुको ताँती लामै रहेको भन्‍दै उनले न्यायको पालना गर्दा जेल बस्नुपरेको टिप्पणी गरिन् ।

उनले लेखेकी छन्, ‘हामी विचारमा कटिवद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं । यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनि सहभागिता रहनुपर्दछ । भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मूलबासीको अपमान गरेर मुलुक कहिल्यै समृद्धशाली हुन सक्दैन त्यसैले जनभावनाको कदर गरौँ ।’

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक सो पार्टीका सांसदहरुले बहिस्कार गरेपछि मुख्यमन्त्री रावल पदमुक्त भएका हुन् ।