राजनीति

राष्ट्रपतिको सवारीमा भएको सास्तीको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : पन्त

२९ माघ,काठमाडौँ । नेकपा एमालेका सांसद रघु जी पन्तले राष्ट्रपतिको सवारीका कारण सर्वसाधारण जनताले सास्ती खेप्नु परेको घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले सरकारले राष्ट्रपतिको सवारीको राम्रो व्यवस्थापनगर्न नसक्दा सिङ्गो राष्ट्रपति संस्थाप्रति सर्वसाधारणको आक्रोस बढेको भन्दै यसको सम्पूर्ण जिम्मा सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बनाएका हुन्।

संसद बैठकमा बोल्दै उनले राष्ट्रपतिको सवारीको समयमा आफु पनि घन्टौ जाममा परेको र सर्वसाधारणको गाली सुन्न नसकेर संसदको लोगो छोप्दै माक्स लगाएर हिड्नु परेको समेत बताए । उनले भने ‘राष्ट्रपति जी सम्बोधन गरेर हिड्नु भयो तर सडकमा घन्टौ जाममा बस्नु परेको अवस्थालाई लिएर सरकार,राष्ट्रपति संस्था र सांसदहरू प्रती सर्वसाधारणको गाली गलौज र आक्रोस व्यक्त भैरहेको थियो’,। यसको दोसी सरकार र सुरक्षा संयन्त्र रहेको भन्दै पन्तले सो घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।

पन्तले सर्वसाधारण मात्रै नभएर बिरामी बोकेका एम्बुलेन्स पनि जाम रहेको भन्दै ‘ ति एम्बुलेन्समा कस्ता बिरामी थिए ? कति बिरामीको जीवन खतरामा पर्यो होला यसको केही लेखाजोखा छ ? भन्दै सरकारसँग प्रश्न गरेका थिए ।

विशिष्ट व्यक्तिहरूको सवारीलाई उपयुक्त हिसाबले व्यवस्थापन गर्नु पर्नेमा पन्तको जोड थियो । उनले विशिष्ट व्यक्तिहरूको सवारीको व्यवस्थापनको बारेमा पटक पटक कुरा उठेपनि यस बारेमा कुनै पनि सरकारले चासो नदेखाएको भन्दै छिटो भन्दा छिटो यस सन्दर्भमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ थियो।