अन्तर्राष्ट्रिय

भूकम्पपछि उत्तर पश्चिम सिरियामा ४ हजार तीन सयको मृत्यु

१ फागुन, एजेन्सी । उत्तरपश्चिम सिरियामा अघिल्लो हप्ता गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या चार हजार तीन सय जनाको पुगेको छ । त्यसैगरी सात हजार छ सयजना घाइते भएको संयुक्त राष्ट्रसंघको राहत एजेन्सीले सोमबार जनाएको छ ।

मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले उल्लेख गरेको तथ्याङ्कमा सरकार नियन्त्रित क्षेत्रको अवस्थाको पछिल्लो विवरण समावेश छैन ।

भूकम्पप्रभावित क्षेत्रहरू मध्ये आइतबारसम्म सबैभन्दा बढी मृत्यु हुने र घाइते हुने जिल्ला हरिम र त्यसपछि उत्तरपश्चिम सिरियाको अफ्रिन र जेबेल सामन रहेको एजेन्सीले जनाएको छ ।

सिरियाली स्वास्थ्य मन्त्रालयले आइतबार राति एक पछिल्लो अपडेटमा त्यहाँ एक हजार ४१४ व्यक्तिको मृत्यु भएको र दुई हजार ३४९ घाइते भएको बताएको छ ।

यसैबीच, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सको पछिल्लो तथ्याङ्कले भूकम्पले सरकारी र विद्रोही नियन्त्रित क्षेत्रमा करिब ५ हजार ३२९ जनाको ज्यान गएको बताएको छ ।