२ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन् । आज धनगढीमा समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त धारणा राखेका हुन् ।
खनालले भने ,“राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो । यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको मर्म र भावनाका साथ राम्रो व्यक्तित्वलाई पदमा पु¥याउनुपर्छ त्यसका लागि सबै पार्टीले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।”
राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने खनालको भनाइ थियो । यस्तै, राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै समस्यामा पर्ने उनको बुझाइ रहेको छ ।
खनालले, अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको पनि दाबी गरे । उनले “अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना नदेखिएको बताएका हुन् ।





