आर्थिक

एनसेलको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन सम्पन्न

काठमाडौं, फागुन २ । शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा आयोजना गरेको तीनदिने महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न भएको छ ।

यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले समाजका विभिन्न क्षेत्रका लागि उपयोगि हुने सोलुसन्सहरुमा काम गरेका छन् । यस ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समुहहरुको पिचिङ् पश्चात विजयी समुहहरुको घोषणा गरिएको थियो ।

ह्याकाथनमा सहभागी १६ टिम मध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार रु १५०,००० सहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोश्रो स्थानमा रहन सफल भई रु १००,००० जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेश्रो स्थान हासिल गर्दै रु ७५,००० जित्न सफल बनेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरुमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । “यो कार्यक्रम महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन–बाइनरी छात्राहरुलाई अवसरका साथै उनीहलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ”, उनले भने ।

एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उदेश्य अनुरुप शिक़्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो । गर्ल्स इन टेक र वुमन इन बिग डेटा सझेदारको रुपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरुलाई एक साथ नविन सोलुसन्स्हरु विकासको लागि अवसर प्रदान गरेको थियो ।