५ फागुन, काठमाडौं । ६ महिना कैद भुक्तानी गर्नबाकी रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको कैद मिनाहा गर्न भन्दै फाइल राष्ट्रपति कार्यालयमा पुगेको छ ।
महान्यायाधिवक्ता कार्यालयले सांसद चौधरीको कैद मिनाहाको फाईल मन्त्रिपरिषदमा पठाउन गृह मन्त्रालयलाई कानुनी सल्लाह दिएको थियो । सोही आधारमा मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको थियो । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशै भरका आचरण सुधार गरेका कैदी बन्दीलाई राष्ट्रपती मार्फत आम माफी दिने चलन छ ।
यदि राष्ट्रपति कार्यालयबाट सांसद चौधरीले भुक्तान गर्नुपर्ने कैद सजाय मिनाहा भएको खण्डमा सांसदको जिम्मेवारीमा फर्किएर संसद बैठकमा सहभागी हुन पाउने छन् ।
कैलाली–२ बाट निर्वाचित चौधरीलाई सांसद पदमा निर्वाचित भएपश्चात प्रहरीले पक्राउ गरेको थियो । उनी माथी ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय तोकिएको थियो ।





