राजनीति

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

७ फागुन, सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् ।
नेपाली कांग्रेस सुर्खेतले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेका हुन् ।

महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । उनले भने , “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।”

पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उनले त्यसमा कसले के कति गल्ती गर्यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको समेत बताए । अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने शर्माको भनाइ थियो ।