८ फागुन, काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी महबुब आलमले टी-२० लिगमा स्पट फिक्सिङका लागि दुई जना खेलाडीसँग अप्रोच गरेको बयान दिएका छन् ।
आलमले सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा टी-२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेको बयान दिएका छन् ।
उनले प्रहरीलाई दिएको बयान यस्तो छ, छिमेकी भाइ रवि माझीले मलाई हालै सम्पन्न नेपाल टी २० क्रिकेट लिग सञ्चालन भइरहेका बेला वाट्स एपमार्फत सम्पर्क गरी पोखरा एभेन्जर्सका आरिफ शेख र फार वेस्ट युनाइटेडका खेलाडी महमद हासिम अन्सारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिएमा निजहरूलाई ६ लाख रकम उपलब्ध गराउने भनेका थिए । मैले २ लाख रुपैयाँका दरले पाउने प्रस्ताव गरिएको थियो । मलाई जानकारी गराइदिनू भनेकाले मैले जानकारी गराएको थिएँ । मैले निजलाई पैसा राम्रो दिएको भएर कुरा गरेको बाँकी ६ म्याचको प्रतिम्याच ६ लाखका दरले ३६ लाख तिमीलाई हुन्छ भनेको थिएँ । मलाई प्रतिम्याच २ लाखका दरले दिने भनी खेलाडीलाई सम्पर्क दिन भनिएको थियो ।’





